श्रीमती गम्भीर घाइते
रौतहट, कार्तिक १३ रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
प्रहरी चौकी दुधिअवाका अनुसार गएराति करिब १८:३० बजेको समयमा फतुवा विजयपुर नगरपालिका वडा नं. ११ राङ्गी टोलस्थित दुधिअवा–बालचनपुर सडक खण्डमा दुर्घटना भएको हो।
दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला रौतहटको गुजरा नगरपालिका वडा नं. ४ पोखरभिन्डा घर भई इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत अन्दाजी ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र मोटरसाइकल पछाडि सवार उनकी श्रीमती अन्दाजी ३० वर्षीया प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत वीरगन्जस्थित बयोधा अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले चालक चौधरीलाई राति २०:१० बजे मृत घोषणा गरेका थिए। दुर्घटनामा गम्भीर घाइते भएकी निशा खड्काको अवस्था भने चिन्ताजनक रहेको र अस्पतालमा उपचार भइरहेको छ।
घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Comments
Post a Comment