रूपन्देही । बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा शनिवार स्वास्थ्यकर्मीलाई महिलाले झापड हानेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेका युट्युबर पक्राउ परेका छन् । सहारा एचडी टिभी नामक च्यानल सञ्चालन गर्ने हिमान्सु शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
स्वास्थ्य जाँच गर्न आएकी युवतीमाथि दुव्र्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीमाथि एक महिलाले हातपात गरेको भिडियो शाहीको च्यानलबाट प्रसारण भएको थियो । उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालकर्ताहरूले योजनाबद्ध तरिकाले भिडियो खिचेर हालिएको भन्दै शाहीलाई कारबाही गर्नुपर्ने माग गरिरहेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेले विज्ञप्ति निकालेर पत्रकारिता आचारसंहिताबाहिर गएर यस्तो काम गर्ने पत्रकार नभएको भन्दै सबैलाई सचेत गराएको थियो । विज्ञप्तिमा यस्तो तरिकाले डलर आर्जन गर्नेलाई कारबाहीको माग गरिएको थियो ।
स्थानीय पत्रकारहरूका अनुसार यसअघि पनि शाहीले यस्ता विवादित भिडियो खिचेर सार्वजनिक गर्ने गरेका थिए । उनी पत्रकार महासंघका सदस्य छैनन् । शनिवार उक्त मेडिकलमा स्वास्थ्य परीक्षण गराई फर्केको केही मिनेटमा नै युट्युबरसहित पुगेको समूहले मेडिकल सञ्चालकमाथि कुटपिट गरेको थियो । उक्त झडपको भिडियो शाहीले तत्काल सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
युट्युबर शाहीलाई नियन्त्रणमा लिएर घटनाको सघन अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए । सो घटनालाई लिएर औषधी व्यवसायी परिषद र सिएमए संघले पनि छानबिन अघि बढाएको जनाएको छ । प्रहरीले भने सो घटनामा स्वास्थ्यकर्मी थापाविरूद्ध करणीसम्बन्धी कसुरमा ७ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
सिएमएले प्रारम्भिक उपचार गर्न पाउने तर महिला बिरामीलाई चेक गर्दा अर्काे महिला स्टाफ राख्नुपर्ने कानुनी प्रावधान रहेको छ । शनिवार प्रहरी हिरासतमा जानुअघि मेडिकल सञ्चालक थापाले कुनै गलत नियतले नभई बिरामीको सेतो पानी बगेकाले निजको स्वीकृतिमा चेक गरेको दाबी गरेका थिए । अहिले उनलाई जबरजस्ती करणी मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको र बयान लिने काम नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रतितसिंह राठोरले जनाएका छन् ।
‘मेडिकल सञ्चालकलाई हिरासतमा लिएर करणी मुद्दामा अनुसन्धान हुँदैछ । मुद्दा नै यही विषयमा थियो, बयान लिन भ्याइएको छैन,’ उनले भने ।