जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको BAT (Border Action Team) तथा मातहत भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले विशेष सूचनाको आधारमा सोमबार बिहान करिब ०८:४० बजे गौर नगरपालिका वडा नं. १ स्थित भन्सार कार्यालय गेटअगाडि चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी यात्रुवाहक टाटा सुमो गाडीको छतमा रहेको आलुको बोराभित्र लुकाइछिपाए I नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अन्दाजी २,००,००० रुपैयाँ मूल्य बराबरको १२ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भारतको जिल्ला सीतामढी असोगी ग्राम वडा नं. ४ बस्ने अन्दाजी वर्ष ४१ को अमरनाथ चौधरीलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका चौधरी र बरामद गरिएका मोबाइललगायतका सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
