वीरगंज । राजहंस ब्रान्डको चामलको प्याकेटमा दाल निःशुल्क दिने भन्दै उपभोक्तालाई भ्रममा पारेको पुष्टि भएपछि वीरगञ्जस्थित महावीर एग्रोमाथि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बजारमा पठाइसकेको चामल फिर्ता ल्याएर सही तौल र विवरणसहित पुनः प्याकिङ गरी मात्र बिक्री–वितरण गर्न उद्योगलाई निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार महावीर एग्रोले आफ्नो राजहंस ब्रान्डको २५ केजी चामलको बोरामा ५०० ग्राम दाल निःशुल्क दिने विज्ञापन गरेको थियो। तर, चामल र दालसहितको कुल तौल नै २५ केजी मात्र राखिएको पाइएपछि विज्ञापन र वास्तविकताबीच फरक देखिएको हो। यसबाट उपभोक्ता भ्रममा परेको प्रशासनको निष्कर्ष छ।
उपभोक्ता ठगी भइरहेको भन्ने सूचनाका आधारमा गत असोज १२ गते सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापाको नेतृत्वमा खटिएको अनुगमन टोलीले महावीर एग्रोको गोदाममा छापा मारेको थियो। अनुगमनका क्रममा कैफियत भेटिएपछि उद्योगलाई तत्काल ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो।
त्यसपछि गरिएको थप अनुसन्धानबाट समेत अनियमितता पुष्टि भएपछि प्रशासनले थप कारबाही गर्दै कुल जरिवाना दुई लाख रुपैयाँ पुर्याएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी थापाका अनुसार बजारमा पठाइएका सबै चामल फिर्ता ल्याएर सही तौल र विवरण उल्लेख गरी पुनः प्याकिङ गरेपछि मात्र बिक्री–वितरण गर्न निर्देशन दिइएको छ। उपभोक्तालाई आकर्षित गर्ने विज्ञापनमा उल्लेख गरिएको विवरण र वास्तविक वस्तुको तौल तथा विवरणबीच एकरूपता हुनुपर्नेमा प्रशासनले जोड दिएको छ।
Comments
Post a Comment