Menu

दसैँ–तिहारमा रौतहटको सुरक्षा कडा, ८९० प्रहरी परिचालन

aadarshvani |
October 09, 2026 0
Featured

अपराध नियन्त्रणदेखि सीमा तस्करी रोक्नेसम्म विशेष सुरक्षा योजना लागू  असोज २३

रौतहट । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, तस्करी, लागुऔषध कारोबार तथा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीसहित ८९० जना प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चाडपर्वमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न पैदल गस्ती, मोबाइल गस्ती, पिकेट ड्युटी, बजार अनुगमन तथा यात्रु सहायता कक्षलगायतका विभिन्न सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको छ। 

आकस्मिक घटनामा तत्काल परिचालन हुन ३४ स्थानमा पिकेट र १० स्थानमा पैदल गस्तीको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।भीडभाड हुने बजार, मेला तथा संवेदनशील क्षेत्रमा ड्रोन र १४ वटा मोबाइल गस्तीमार्फत निगरानी बढाइएको छ। 

भारतीय सीमावर्ती क्षेत्रबाट आवतजावत गर्ने यात्रुलाई ठगी तथा लुटपाटबाट जोगाउन पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। त्यस्तै, अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरसहित चेकजाँचसमेत सुरु गरिएको प्रहरीले जनाएको छ।

जनशक्ति अभावबीच सुरक्षा चुनौती

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार करिब १ हजार १२६ वर्ग किलोमिटर क्षेत्रफल र ८ लाख १३ हजार ५७३ जनसंख्या रहेको रौतहटमा प्रहरीको स्वीकृत दरबन्दी ९०४ जना भए पनि हाल ८१९ जना मात्रै कार्यरत छन्। दरबन्दीअनुसार जनशक्ति उपलब्ध नभएको अवस्थामा चाडपर्वको सुरक्षा व्यवस्थापन प्रहरीका लागि चुनौतीपूर्ण देखिएको छ।


प्रहरीको कार्यसम्पादन विवरणअनुसार हालैको अवधिमा ११ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने १२ जनामाथि कारबाही गरिएको छ। त्यसैगरी, ३५ जना प्रहरी कर्मचारीलाई विभिन्न तालिम प्रदान गरिएको छ।

अपराध अनुसन्धानतर्फ कुल २५१ मुद्दा दर्ता भएकामा १६६ वटा फर्छ्योट भएका छन् भने ८५ वटा अनुसन्धानकै क्रममा रहेका छन्। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत पाँचवटा मुद्दा दर्ता गरी छ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट पाँच किलो १६५ ग्राम गाँजा र १५ ग्राम १६५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरी विवरणमा उल्लेख छ।

अदालतको फैसला कार्यान्वयनतर्फ १३५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कुल ६७ वर्ष एक महिना चार दिन कैद सजाय कार्यान्वयन गराइएको प्रहरीले जनाएको छ।

भन्सार छलीमा ५७ लाखभन्दा बढी राजस्व

सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणतर्फ प्रहरीले सात जना मानिस र पाँचवटा सवारीसाधन नियन्त्रणमा लिएको छ। भन्सार छलीसम्बन्धी कारबाहीबाट ५७ लाख ५३ हजार १६३ रुपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ।

त्यसैगरी, अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न २६ वटा सवारीसाधन नियन्त्रणमा लिई एक लाख ४५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। अवैधकाठ ओसारपसारसम्बन्धी कारबाहीमा सातवटा सवारीसाधन र तीन जना व्यक्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १२ जनाको मृत्यु, ३६५ घाइते

सवारी दुर्घटनातर्फ जिल्लामा १८१ वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ३६५ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने २४८ वटा सवारीसाधनलाई कारबाही गरी २० लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। चाडपर्वमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

नागरिक सेवातर्फ जिल्ला प्रहरी कार्यालयबाट महिला, पुरुष तथा बालबालिकासहित कुल १८ हजार ७५३ जना लाभान्वित भएको विवरणमा उल्लेख छ।

शंकास्पद गतिविधि देखे प्रहरीलाई खबर गर्न आग्रह

जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा चाडपर्वलाई सुरक्षित बनाउन प्रहरीले सर्वसाधारणसँग सहयोगको अपेक्षा गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले कुनै पनि शंकास्पद गतिविधि, चोरी, लुटपाट वा अवैध कारोबार देखिएमा तत्काल प्रहरीको आपत्कालीन नम्बर १०० मा फोन गरी सूचना दिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।

प्रहरीले चाडपर्वका समयमा घर छाडेर बाहिर जाँदा घरको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिप्रति सतर्क रहन, अनावश्यक नगद तथा बहुमूल्य सामग्री प्रदर्शन नगर्न र सवारी चलाउँदा ट्राफिक नियम पालना गर्नसमेत आग्रह गरेको छ।

चाडपर्वको सुर,क्षा योजना प्रभावकारी कार्यान्वयन, सीमावर्ती क्षेत्रमा निगरानी र आपराधिक गतिविधिमाथि निष्पक्ष कारबाही हुन सके रौतहटमा सर्वसाधारणले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सक्ने अपेक्षा गरिएको छ।



यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3