रौतहट असोज २६ –
बैंक तथा डिजिटल वालेटको केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको खातामा अनधिकृत पहुँच पुर्याएर करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरू सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार पीडितहरूको उजुरीका आधारमा अनुसन्धान गर्दा असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नं. ५ कोइरी टोलबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्। साहिल र सोनी गौर नगरपालिका–३ मा डेरा गरी बस्दै आएका थिए।
प्रहरीका अनुसार केवाइसी अपडेटको नाममा अनलाइन ठगी भएको भन्दै हालसम्म २२ वटा उजुरी परेका छन्। ती उजुरी तथा प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको एसपी रिजालले जानकारी दिएका छन्। घटनामा अन्य व्यक्ति संलग्न भए–नभएको र रकम कहाँ स्थानान्तरण गरिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट एक लाख ६२ हजार २१० नेपाली रुपैयाँ, तीन हजार २३६ भारतीय रुपैयाँ, सात थान मोबाइल, ११ थान सिमकार्ड, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, ३० थान बैंक भौचर, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, विभिन्न बैंकका चेक, बैंकिङ विवरण भएका कागजात तथा रकमको हिसाबकिताब र मोबाइलको स्क्रिन सेयर गराउने तरिकासम्बन्धी विवरण लेखिएका डायरी र कापीसमेत बरामद गरिएको एसपी रिजालले बताएका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ। पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
यसैबीच, प्रहरीले केवाइसी अपडेट गर्ने बहानामा अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन आग्रह गरेको छ। प्रहरीले ओटीपी, पिन, पासवर्ड वा बैंकिङ विवरण नदिन, अपरिचित व्यक्तिलाई मोबाइलको स्क्रिन सेयर नगर्न तथा शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक माध्यमबाट पुष्टि गर्न सुझाव दिएको छ।
अनलाइन ठगीमा परेको आशंका भए नजिकको प्रहरी कार्यालयमा उजुरी दिनसमेत प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
Comments
Post a Comment