पर्सा , असोज २१ –
पशुपतिनाथ मन्दिरको मुख्य परिसरमा गैरहिन्दू प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन्।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरी काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाएको जनाएको छ।
केही दिनअघि पशुपतिनाथ मन्दिर पुगेका उनीहरूले बनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो। भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्। त्यसपछि कोषले उनीहरूविरुद्ध जाहेरी दिएको बताइएको छ।
पक्राउ पर्नुअघि दम्पतीले भिडियोमार्फत स्पष्टीकरण दिँदै आफूहरू मन्दिरको मूल ढोकाबाट प्रवेश गरे पनि भर्याङबाटै फर्काइएको र मन्दिरभित्र प्रवेश नगरेको दाबी गरेका थिए। प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएकाले श्रीमान्लाई समेत देखाउन लगेको बताएकी छन्।
ओसीम इटहरी–८ का स्थायी बासिन्दा हुन् भने उनी इटहरीमा व्यापार गर्दै आएका छन्।
Comments
Post a Comment