सिमरा , असोज २१ –
सिमरा रंगशालामा जारी जितपुरसिमरा महिला फुटबल प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले भारतको झारखण्डलाई ९–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मंगलबार राति भएको अन्तिम क्वार्टरफाइनलमा एपीएफले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ६ गोल गर्दै एपीएफले फराकिलो जित निकालेको हो।
एपीएफका लागि रेनुका हमाल, रश्मिकुमारी घिसिङ र पूर्णिमा राईले २–२ गोल गरे। गीता राना मगर, कुसुम खतिवडा र सरु लिम्बूले एक–एक गोल गरे। झारखण्डका लागि बबिता कुमारीले एक गोल फर्काइन्। शानदार प्रदर्शन गरेकी रेनुका हमाल प्लेयर अफ द म्याच घोषित भइन्।
यससँगै एपीएफ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक सिमरा भेट्रान र त्रिभुवन आर्मी क्लब बुधबार सिमरा रंगशालामा भिड्नेछन्।
Comments
Post a Comment