रौतहट २८ असोज । रौतहटको चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडक खण्डमा बुधबार बिहान स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–८ मोतीपुर बस्ने सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरी रहेकी छन्।
प्रहरीका अनुसार बिहान करिब १०:५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको म. प्र. ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमी (MOON LIGHT ACADEMY) को स्कुल बसले घरअगाडि बाटो छेउमा खेलिरहेकी बालिका महिमालाई ठक्कर दिएको थियो। बसको ठक्करबाट बालिकाको टाउकोको पछाडिपट्टि गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी सन्तपुर तथा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) सत्य नारायण थापाको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि दिउँसो १२:२० बजे चन्द्रपुर सरकारी अस्पताल पुर्याएको छ। अस्पतालमा मृतकका आफन्तहरूसमेत उपस्थित रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त गौतमका अनुसार ठक्कर दिने स्कुल बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखिएको छ।
यस्तै, बस चालक रौतहट चन्द्रपुर नगरपालिका–४ बस्ने ४५ वर्षीय कान्छा राईलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Comments
Post a Comment