रौतहट असोज २१ - रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनका लागि सञ्चालित विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका प्रतिवादीहरूबाट कुल ७ वर्ष २ महिना २७ दिन कैद सजाय र २,७३,७७० (दुई लाख त्रिहत्तर हजार सात सय सत्तर) रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) बसन्त गौतमका अनुसार पक्राउ परेकामाथि जालसाजी, कुटपिट तथा अंगभंग, विद्युतीय कारोबार ऐन, नागरिकता किर्ते, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लेनदेन बिगो, सवारी ज्यान, बाल शोषण आरोप, जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग, र चेक अनादरलगायतका मुद्दाहरू रहेका छन्।
पक्राउ गरिएका सबै ३७ जना प्रतिवादीहरूलाई आवश्यक कारबाही तथा कैद र जरिवाना असुलीका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको डिएसपी गौतमले जनाए।

Comments
Post a Comment