वीरगंज, २१ असोज –
वीरगंज महानगरपालिकाले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका वीरगञ्ज–२३ निवासी राजु बैठालाई सम्मान गरेको छ।
बैठाले भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट राजनीतिशास्त्र विषयमा विद्यावारिधि उपाधि हासिल गरेका हुन्। उनले ‘वीरगञ्ज महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन : चयन गरिएका सेवाहरूको अध्ययन’ शीर्षकमा विद्यावारिधि तहको अनुसन्धान पूरा गरेका छन्।
बैठाका अनुसार आफ्नो समुदायबाट विद्यावारिधि उपाधि हास गर्ने आफू पहिलो व्यक्ति हुन्। उनको शैक्षिक उपलब्धिको सम्मान गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले खादा लगाएर सम्मान गरेका हुन्।
सम्मान गर्दै नगर प्रमुख सिंहले डा. बैठाको शैक्षिक उपलब्धिले वीरगञ्जको नाम देश तथा विदेशमा चिनाउन योगदान पुगेको बताए। उनले बैठाको उपलब्धिप्रति महानगर गौरवान्वित भएको उल्लेख गरे।
सम्मान कार्यक्रममा डा. बैठाले आफूले गरेको अनुसन्धानमा आधारित पुस्तकसमेत नगर प्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए।
अनुसन्धानमा वीरगञ्ज महानगरपालिकाले नागरिकलाई उपलब्ध गराउँदै आएका सार्वजनिक सेवाको कार्यक्षमता, प्रभावकारिता र परिणामको अध्ययन गरिएको छ। अनुसन्धानले स्थानीय सरकारको सेवा प्रवाहमा देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे तथ्यगत आधार प्रस्तुत गरेको बताइएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले अनुसन्धानबाट प्राप्त निष्कर्ष महानगरपालिकाका लागि उपयोगी हुने बताए। अनुसन्धानमा देखाइएका विषयलाई आधार बनाएर सेवा प्रवाहमा आवश्यक सुधार तथा कार्यान्वयन अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।
सम्मान ग्रहण गर्दै डा. बैठाले आफूलाई प्राप्त प्रेरणा, सहयोग र साथकै कारण विद्यावारिधिसम्मको यात्रा पूरा गर्न सफल भएको बताए। उनले आगामी दिनमा पनि शिक्षा, अनुसन्धान तथा सामाजिक क्षेत्रमा योगदान गर्दै क्षेत्रको विकासमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
Comments
Post a Comment