नयाँ दिल्ली, असोज २४ –
भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोगविरुद्ध हुने भनिएको प्रदर्शनअघि प्रहरीले युट्युबर ध्रुव राठीसहित विभिन्न व्यक्तिलाई हिरासतमा लिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार राठीलाई गुरुग्रामस्थित निवासबाट शनिबार बिहान नियन्त्रणमा लिइएको हो। त्यस्तै, कक्रोच जनता पार्टी (सीजेपी) की कानुनी मामिला प्रमुख रत्ना सिंहले पनि आफूलाई प्रहरीले हिरासतमा राखेको दाबी गरेकी छन्।
सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने तयारी गरेको थियो। निर्वाचन नामावलीको विशेष पुनरावलोकन प्रक्रियामा अनियमितता भएको र ठूलो सङ्ख्यामा मतदाताको नाम हटाइएको आरोप लगाउँदै प्रदर्शनकारीले विरोध जनाएका हुन्।
प्रदर्शनअघि दिल्ली प्रहरीले करिब २०० प्रदर्शनकारीलाई हिरासतमा लिएको समाचारमा उल्लेख छ। प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै प्रदर्शनस्थलतर्फ जाने क्षेत्रमा निगरानी बढाएको छ।
निर्वाचन नामावलीबाट करिब १३ करोड नाम हटाइएको प्रदर्शनकारीको दाबी छ। तर, निर्वाचन आयोग र सत्तारूढ भारतीय जनता पार्टीले नामावली संशोधनमा राजनीतिक हस्तक्षेप भएको आरोप अस्वीकार गर्दै आएका छन्।
Comments
Post a Comment