वीरगंज २१ असोज –
वीरगंज महानगरपालिका–२५ श्रीसियाका स्थानीय बासिन्दाले मुआब्जाको माग गर्दै ड्राइपोर्टको मूल गेटमा जारी राखेको धर्नाका विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता सुरु भएको छ।
धर्नास्थलमा बुधबार बिहान पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, भन्सार प्रमुख कृष्णप्रसाद मैनालीसहितको टोली पुगेपछि स्थानीय प्रतिनिधिसँग प्रारम्भिक छलफल भएको थियो। छलफलपछि समस्या समाधानका लागि वार्ता गर्ने सहमति भएको हो।
सहमति अनुसार बिहान ९ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा प्रजिअ दाहालसहितको टोली र स्थानीय प्रतिनिधिबीच छलफल भइरहेको छ। छलफलपछि प्रशासनले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
स्थानीयले भने माग पूरा नभएसम्म धर्ना जारी राख्दै वार्तालाई पनि सँगसँगै अघि बढाउने बताएका छन्। विगत तीन दिनदेखि धर्नामा रहेका उनीहरूले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन नछाड्ने चेतावनी दिएका छन्।
स्थानीयका अनुसार करिब १२ वर्षअघि जग्गा अधिग्रहण गरिए पनि खेत तथा अन्य जग्गाको मुआब्जा वितरण भए पनि घडेरी, घर, विद्यालय, अस्पताल र प्रहरी चौकीलगायत संरचनाको मुआब्जा अझै वितरण भएको छैन। उनीहरूले बाँकी सम्पूर्ण जग्गा तथा संरचनाको उचित मुआब्जा तत्काल उपलब्ध गराउन माग गरेका छन्।
Comments
Post a Comment