Menu

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

News Feed |
October 13, 2026 0
Featured

पर्सा असोज २७ –

बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। यस अवसरमा दसैँघर, पूजा कोठा तथा देशभरका शक्तिपीठमा देवीको पूजा र ध्यान गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्ट धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा समेत चन्द्रघण्टा देवीको स्वरूपबारे उल्लेख गरिएको छ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा चन्द्रघण्टा देवीको आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। देवीको स्वरूपलाई अत्याचारको नाश गर्ने शक्तिका रूपमा पनि व्याख्या गरिएको छ।

चन्द्रघण्टा देवीको स्वरूप शान्त, करुणामयी र तेजस्वी मानिन्छ। धार्मिक परम्पराअनुसार आज देवीको पूजा, ध्यान तथा स्तोत्र पाठ गर्दा पाप नाश हुनुका साथै शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने विश्वास गरिन्छ। गीत–सङ्गीत क्षेत्रमा आबद्ध व्यक्तिले पनि चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गरेको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभएको छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जौको जमरा राख्ने र शैलपुत्री देवीको पूजा गर्ने परम्परा छ। दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ भने तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ। त्यसपछि क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गर्ने विधान छ।

नवरात्रका नौ दिन दसैँघर तथा शक्तिपीठमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गर्ने चलन छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गरिन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर दसैँ मनाउने परम्परा रहेको छ।

नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआराधना र दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ। कतिपय भक्तजनले नौ दिनमा विभिन्न शक्तिपीठ पुगेर देवीको दर्शन गर्ने धार्मिक परम्परासमेत पालना गर्दै आएका छन्।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

स्थानीय-खबर $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3