वीरगंज, असोज २५ –
बडादसैँ सुरु भएसँगै वीरगंजमा चाडपर्वको रौनक बढेको छ। दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
असोज शुक्ल प्रतिपदाका दिन घरघरमा दियो, कलश र गणेश स्थापना गरी जमरा राखेर घटस्थापना मनाइँदैछ। यससँगै दुर्गा भवानीको पूजा–आराधना गर्दै नवरात्र सुरु भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ। दसैँमा दुर्गा भवानीको पूजा गरी कात्तिक ४ गते विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।
दसैँ सुरु भएसँगै वीरगंजका बजारमा किनमेल गर्ने तथा गाउँघर फर्किनेको चहलपहलसमेत बढ्न थालेको छ। धार्मिक स्थलमा भक्तजनको आवागमन बढेसँगै सहरमा चाडपर्वको माहोल देखिन थालेको छ।
Comments
Post a Comment