नयाँदिल्ली , असोज ३१ –
भारतमा जारी प्रदर्शनका क्रममा पक्राउ परेकी अखिल भारतीय विद्यार्थी सङ्घ (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा रिहा भएकी छन्। उनलाई दिल्ली प्रहरीले हिजो साँझ ‘तिरङ्गा मार्च’का क्रममा पक्राउ गरेको थियो।
बीबीसी हिन्दीका अनुसार बोरा आज रिहा भएकी हुन्। रिहापछि सामाजिक सञ्जाल एक्समार्फत उनले कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीप्केसहित पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गरेकी छन्।
उनले लोकतन्त्र र संविधानका लागि गरिएको सङ्घर्षलाई अपराधका रूपमा लिन नहुने बताउँदै भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध महाभियोग लगाउनसमेत माग गरेकी छन्।
भारतमा मतदाता नामावली पुनरावलोकन प्रक्रियालाई लिएर विवाद चर्किएसँगै मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन भइरहेको छ। विपक्षी दल तथा आन्दोलनकारी समूहले मतदाता नामावली पुनरावलोकनबाट प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ दललाई फाइदा पुग्ने आरोप लगाउँदै आएका छन्। तर निर्वाचन आयोगले प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गर्दै आएको छ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार मतदाता नामावली पुनरावलोकनका क्रममा १३ करोड ३० लाखभन्दा बढी मतदाताको नाम हटाइएको छ। निर्वाचन अधिकारीहरूले भने दोहोरो नाम, मृत्यु भएका व्यक्तिको नाम तथा नक्कली विवरण हटाउने उद्देश्यले पुनरावलोकन गरिएको बताएका छन्।
Comments
Post a Comment